जलेश्वर, असार १६ गते ।
महोत्तरीको जलेश्वर स्तिथ प्रादेशिक अस्पताल जलेश्वरको चमेनागृहमा पस्किएको खाजा चाउमीनमा सेतो धागों जस्तो देखिने अखाद्य वस्तु फेला परेको छ ।
मिथिला हाट होटल एण्ड क्याफे नामले अस्पताल हाताभित्र संचालनमा रहेको चमेना गृहमा सो अखाद्य वस्तु फेला परेको हो । प्रादेशिक अस्पताल जलेश्वरका कर्मचारी,बिरामी,कुरुवा र आगन्तुकहरुले यसै चमेनागृह बाट खाद्य वस्तु सेवन गर्ने गर्छन । अस्पतालले भर्ना रहेका बिरामी तथा कुरुवाहरुलाई दुई समयको खाना व्यवस्थापनको जिम्मा समेत यसै मिथला हाट होटल एण्ड क्याफेले पाएको छ ।

प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका लागि आउने स्थानीय यस्तै अखाद्य वस्तु खाएर झन बिरामी हुने अवस्थामा पुग्न सक्नेछन । अस्पताल जस्तो संवेदनशील ठाऊँमा सरसफाईका विषयलाई गम्भीर रूपले लिनुपर्ने हुन्छ तर यहाँ देखिएको असंवेदनशीलताले गर्दा स्थानीय र बिरामीको ज्यानै जोखिममा पार्न सक्छ ।
यस विषयमा प्रादेशिक अस्पताल जलेश्वरका नि. मे.सु डॉ रवि श्रीवास्तवले ध्यानाकर्षण भएको बताएका छन । उनले तत्कालै चमेनागृह संचालकलाई आवश्यक सोधपुछ गरेको जानकारी समेत दिएका छन । “अस्पताल संवेदनशील ठाऊँहो प्रशासनिक पक्षले सहिष्णुताको सिमा हुन्छ र यस प्रति हामी सजग पनि छौ । यस्ता घटना नदोहरियोस् भनी स्पष्टिकरण को लागि चिठ्ठी काट्ने तथा आवश्यक प्रक्रियाहरु समेत पुरा गरिने” मेसु श्रीवास्तवले जानकारी दिए ।

