विराटनगर, असार २० गते ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे अस्पताल प्रशासनसँग छलफल गरेकी छन् ।
हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई थप विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने अवधारणामाथि प्रारम्भिक छलफल भएको जनाइएको छ। अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्य पनि सहभागी थिइन् ।
अनुगमनका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ, औषधि व्यवस्थापन र पूर्वाधारको अवस्थाबारे जानकारी लिएकी थिइन् ।

निरीक्षणपछि उनले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइलाई थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम तोकिएको समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापन व्यवस्थित गर्न र प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न निर्देशन दिएकी छन् ।
त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचनाहरू हटाउन एक महिनाअघि मन्त्रालयबाट जारी गरिएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि उनले पुनः निर्देशन दिएकी छन् ।
मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताउँदै त्यसअनुसार अस्पताल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जोड दिएकी छन् ।

