हेटौंडा, असार २९ गते ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ। तर ट्रकका चालक भने पौडिएर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन् ।
आज बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योगमा ढुङ्गा अनलोड गरेर फर्कँदै गरेको ना७ख ७६५ नम्बरको आइचर ट्रक ह्युम पाइप हालेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा खोलाको पानीको बहाव एक्कासि बढेपछि बगाएको हो ।
ट्रकका चालक चितवनका ३४ वर्षीय दीपक थिङ ले समयमै ट्रकबाट बाहिर निस्किएर पौडिँदै किनारामा पुगेर आफ्नो ज्यान जोगाउन सफल भएका हुन् ।
बाढीले बगाएको ट्रक भने हालसम्म कर्रा खोलामै रहेको छ। घटनापछि स्थानीयवासी र सम्बन्धित निकायले अवस्थाको अनुगमन गरिरहेका छन् ।

