काठमाडौं, असार ३० गते ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ ।
मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो। अदालतले ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना निर्धारण गरेको छ। साथै थप तीन महिना कैदसमेत तोकिएको छ ।
कानुनी व्यवस्थाअनुसार सबै सजायलाई एकीकृत गर्दै अदालतले अन्तिम रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना कायम गरेको हो ।
यसअघि असार २४ गते जिल्ला अदालत काठमाडौंले सोही प्रकरणमा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए। मंगलबार सोही फैसलाअनुसार दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरिएको हो ।

