जनकपुरधाम, असार ३१ गते ।
मधेस प्रदेशमा बालबालिका डुबेर ज्यान गुमाउने घटना बढ्दै गएपछि बाल अधिकारका लागि नागरिक समाज सञ्जाल (CNCR) ले गम्भीर चिन्ता व्यक्त गर्दै प्रदेश सरकार र स्थानीय तहलाई तत्काल प्रभावकारी जल सुरक्षा उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
सञ्जालका अनुसार गत असार २९ गते सिरहाको गोलबजार नगरपालिका–७ मा तीन बालबालिका तथा बाराको कलैया उपमहानगरपालिकामा ६ वर्षीया एक बालिकाको डुबेर मृत्यु भएको घटनाले समस्या थप गम्भीर बनेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ को जेठ मसान्तसम्म डुबेर ४५३ बालबालिकाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म मात्र १११ बालबालिकाले डुबेर ज्यान गुमाइसकेका छन् ।
CNCR ले विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डी तथा उत्खननपछि खुला छाडिएका स्थानहरू बालबालिकाका लागि ठूलो जोखिम बनेको जनाएको छ। विशेषगरी विपन्न परिवारका बालबालिका यस्ता दुर्घटनाको बढी जोखिममा रहेको सञ्जालको निष्कर्ष छ ।
सञ्जालका अध्यक्ष दीपक कुमार झा र सचिव देव कुमारी महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा जल सुरक्षा नीति तत्काल निर्माण तथा कार्यान्वयन गर्न, जोखिमयुक्त खाल्डाखुल्डीमा घेराबारा र चेतावनी बोर्ड राख्न, उत्खनन गर्ने पक्षलाई कानुनी दायरामा ल्याउन तथा विद्यालय र समुदायस्तरमा जल सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
त्यसैगरी उच्च जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, स्थानीय तहका योजनामा जल सुरक्षालाई अनिवार्य रूपमा समावेश गर्ने तथा डुबेर हुने मृत्युको नियमित अनुगमन र प्रतिवेदन प्रणाली विकास गर्न पनि सञ्जालले जोड दिएको छ । बालबालिकाको जीवन र सुरक्षा राज्यको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै सञ्जालले थप मानवीय क्षति हुनुअघि नै प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

