जनकपुरधाम, असार ३२ गते ।
केन्द्र सहित विभिन्न प्रदेशहरुमा अहिले नयाँ समीकरण सहित सत्ताको फेरबदल भईरहेको बेलामा मधेशमा तीन दलिए गठबन्धनको सरकारले निरन्तरता पाउने भएको छ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश पार्टी सभापति कृष्णप्रसाद यादवको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका बीचमा सत्ता गठबन्धन रहेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव तथा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता एवं अर्थमन्त्री यूवराज भट्टराईको सहभागितामा आज बसेको वैठकले गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।
तीनै दलका शीर्ष नेताहरुको छलफलले प्रदेशमा राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।
मधेश प्रदेशमा गत जेठ १२ गते सरकार विस्तारका क्रममा तीन दलबीच निर्वाचनसम्मै गठबन्धनलाई निरन्तरता दिने गरी १५ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार सरकार अगाडि बढ्ने नेताहरूले वैठक पछि जानकारी दिनु भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश तहमा गठबन्धनभित्र कुनै समस्या नरहेको बताउदै केन्द्रको राजनीतिक घटनाक्रमले मधेश सरकार प्रभावित नहुने जानकारी दिनु भयो ।
नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सरकार अन्य प्रदेशभन्दा फरक परिस्थितिमा बनेकाले गठबन्धन कायम रहने दाबी गर्नु भयो । उनका अनुसार हालै प्रदेश सरकारले ल्याएको बजेटसमेत सर्वसम्मत रूपमा पारित भएकाले सरकारलाई स्थिर रूपमा अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनु भयो ।
पछिल्लो समयमा केन्द्रको सहमति अनुसार विभिन्न प्रदेशमा नेपाली काँग्रेस तथा नेपाली कम्युनिष्ट पार्टीका बीचमा नयाँ गठबन्धन बनेर सोही अनुसारको मन्त्रीहरुको राजिनामा तथा वर्खास्तकी जस्ता गतिविधि भएपनि मधेश प्रदेशमा त्यसको असर अहिलेका लागि टरेको छ ।
गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहित ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्नु भएका थिए ।

