काठमाडौं, असार ३२ गते ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कनुभएको छ ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर महामहिम शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न असार ३० गते कतार प्रस्थान गर्नुभएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गर्नुभयो। सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालस्थित कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारी तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर महामहिम शेख तमिम बिन हमद अल थानीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
उक्त भ्रमण शोक संवेदना प्रकट गर्नुका साथै नेपाल–कतार सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत रहेको बताइएको छ ।

