न्युयोर्क, अमेरिका
अमेरिकामा पहिलोपटक ‘नेपाली कांग्रेस न्यूयोर्क–दाङ सम्पर्क समिति’ गठन गरिएको छ । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका नेपाली र नेपाली कांग्रेसमा आस्थावान दंगालीहरूको एक भेलाले शुक्रबार यो समिति गठन गरेको हो।
शोभाराम ओलीको सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति एवं युवा नेता शंकर डाँगीको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलाले ललितजंग पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा नयाँ समितिलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि एवं दाङ जिल्ला सभापति शंकर डाँगीले नेपाली कांग्रेस सधैँ र सबै नेपालीलाई जोड्ने पार्टी भएको बताउनुभयो ।
‘अवसरको खोजी होस् या बाध्यताले, प्रवासमा भए पनि नेपाली मनले सधैँ नेपाललाई नै सम्झिरहन्छ । उहाँले भन्नुभयो–‘यस संस्थाले न्युयोर्कमा बसोबास गर्ने सम्पूर्ण दंगालीहरूलाई एउटै चारतारे छातामुनि गोलबन्द गर्दै उनीहरूको सुख र दुःखको सारथी बन्न सकोस् ।’
दाङ घर भई हाल न्युयोर्कमा रहेका करिब ४० जना नेपालीहरूको सहभागिता रहेको उक्त विशेष कार्यक्रमको सहजीकरण भरत भट्टराईले गर्नुभएको थियो । यो समितिको गठनसँगै अमेरिकामा रहेका दंगालीहरूबीचको भ्रातृत्व र मातृभूमिसँगको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास लिइएको छ ।

