बिरगंज, साउन २ गते ।
अस्ट्रेलियामा निधन भएका पर्सागढी नगरपालिका–७ चैनपुर निवासी २९ वर्षीय राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि शुक्रबार राति नेपाल ल्याइएको छ ।

गत चैत २० गते अस्ट्रेलियाको ताज्मानिया राज्यस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका पटेलको शव लामो कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि स्वदेश ल्याउन सफल भएको हो । उनको मृत्युको कारणबारे हालसम्म आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

छोराको शव नेपाल ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । प्रक्रिया लामो हुँदा परिवारले चिन्ता व्यक्त गर्दै सहयोगको अपिल गरेको थियो ।

यस विषयमा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले विदेशमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर सम्मानपूर्वक स्वदेश ल्याउने कार्यमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका थिए ।

सांसद कानुको पहलपछि परराष्ट्र मन्त्रालय, सम्बन्धित निकाय तथा अस्ट्रेलियास्थित नेपाली समुदायबीच समन्वय बढाइएपछि आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार राति पटेलको पार्थिव शरीर काठमाडौं ल्याइएको हो ।

काठमाडौंमा परिवारजनले शव बुझेका छन् । त्यसपछि पार्थिव शरीर अन्तिम संस्कारका लागि पर्सागढी नगरपालिका–७ चैनपुर लगिएको छ । परिवारका अनुसार शनिबार चैनपुरमै अन्त्येष्टि गरिनेछ ।

तिन महिनादेखि छोराको अन्तिम दर्शनको प्रतीक्षामा रहेको परिवारले शव स्वदेश ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। साथै, सांसद सुशील कुमार कानुको पहलप्रति विशेष धन्यवाद दिएको छ ।

स्वर्गीय राकेश कुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार