चितवन, साउन ४ गते ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङस्थित पानीधारा र चुमखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान करिब २ः२० बजे गएको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। सडक अवरुद्ध भएपछि दुवैतर्फ सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ। बिहान करिब ९ बजेसम्म सडक एकतर्फी वा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित डोजर परिचालन गरिएको उनले बताए ।

निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा पृथ्वी राजमार्गको जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो ।

प्रहरीका अनुसार पहिरो हटाएपछि सडक सञ्चालन गरिनेछ। यद्यपि नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ जाने केही सवारीसाधन भने सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार