धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, साउन ४ गते
कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रहरीले करिब ४ लाख रुपैयाँ मूल्य बराबरको अवैध सिसौ (सिसम) काठ बरामद गर्दै काठ मिल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका–७ दत्तपुरबाट भारतको परसरामपुर जाने सडकअन्तर्गत नेपालतर्फ रहेको निसा काठ मिल उद्योगमा छापा मार्ने क्रममा लुकाइछिपाइ राखिएको ९ वटा सिसौ काठका गोलिया बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद काठको परिमाण करिब ११० क्यूबिक फिट रहेको छ । बरामद काठको अनुमानित मूल्य करिब ४ लाख रुपैयाँ रहेको जनाइएको छ ।

घटनाको अनुसन्धानका क्रममा काठ मिलका सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद काठ तथा नियन्त्रणमा लिइएका सञ्चालकलाई आवश्यक कानुनी कार्वाहीका लागि ठकुरापुर सब-डिभिजन वन कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार