गाैशाला, साउन ४ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका – १२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा ३६ वर्षसम्म शिक्षण सेवा तथा खेलकुद प्रशिक्षणमा समर्पित शिक्षक लक्ष्मण कुमार गौतमलाई सम्मानसहित बिदाइ गरिएको छ ।

अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका गौतम पछि स्थायी नियुक्ति भई सोही विद्यालयमा निरन्तर ३६ वर्ष कार्यरत रहेपछि उमेर हदका कारण अवकाश भएका हुन्। राष्ट्रिय ह्यान्डबल खेलाडीसमेत रहेका उनले शिक्षणसँगै विद्यालय तथा स्थानीय क्षेत्रमा खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

अवकाशका अवसरमा आयोजित कार्यक्रममा विद्यालयले उनलाई सम्मानपत्र, फूलमाला, अबिर तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, स्थानीयवासी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंहले शिक्षण र खेलकुद दुवै क्षेत्रमा गौतमले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए। उनले यस्ता समर्पित शिक्षकको योगदानले विद्यालयसँगै समाजलाई पनि दीर्घकालीन लाभ पुगेको उल्लेख गरे ।

स्थानीय विष्णु लामाले आफू फुटबल खेलाडी भए पनि किशोरावस्थामा गौतमबाट भलिबल प्रशिक्षण प्राप्त गरेको स्मरण गर्दै, “उहाँले सिकाउनुभएको अनुशासन, मेहनत र लगनशीलता आज पनि मेरो जीवनमा प्रेरणाको स्रोत बनेको छ,” भने ।

विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवले गौतमको समर्पित सेवाको उच्च प्रशंसा गर्दै अवकाशपछिको जीवन स्वस्थ, सुखद र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

बिदाइ समारोहमा वक्ताहरूले गौतमले शिक्षण, अनुशासन र खेलकुद विकासमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका थिए। सम्मान ग्रहणपछि गौतमले विद्यालय, सहकर्मी, विद्यार्थी तथा स्थानीय समुदायबाट प्राप्त माया, साथ र सम्मानप्रति आभार व्यक्त गर्दै औपचारिक शिक्षण सेवाबाट अवकाश लिए पनि समाज र खेलकुदको विकासमा आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार