गाैशाला, साउन ५ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हाल लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले शिक्षा र स्वास्थ्यमा थप आर्थिक भार नथोपर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको स्मरण गराएका छन् ।
उनले सरकारलाई यही अवसरमा आमनागरिकलाई प्रत्यक्ष असर पार्ने अन्य कर तथा नीतिगत व्यवस्थामा पनि पुनर्विचार गर्न आग्रह गरेका छन्। विशेषगरी विद्युत् सेवामा लाग्दै आएको कर (भ्याट) हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
थापाले सरकारका निर्णयहरू जनभावनाअनुसार परिमार्जन हुनुपर्ने उल्लेख गर्दै शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क फिर्ता गर्ने निर्णयलाई कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।
उनले सरकारलाई नागरिकको मर्म बुझेर अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू सुधार्न आग्रह गर्दै जनहितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न सुझाव दिएका छन् ।

