गाैशाला, साउन ५ गते ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीबाट प्राप्त रकममार्फत दुई समस्याग्रस्त सहकारी संस्थाका १२५ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ ।
समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईं हाम्रो सहकारीका ९० जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई कानुनी व्यवस्था अनुसार फिर्ता गरिएको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा कम बचत भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको हो। आगामी चरणमा पनि बचत रकमका आधारमा बचतकर्ताको वर्गीकरण गरी क्रमिक रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहने बताइएको छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

