सिरहा, साउन ५ गते ।
कर्जन्हा नगरपालिकाका पूर्व मेयर तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेश प्रदेश कमिटी सदस्य गंगा पासमानले पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता र विधानविपरीतका गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा उनले लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय तथा जनअधिकारका आन्दोलनमा सहादत प्राप्त सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीलाई थप जनमुखी, अनुशासित र सिद्धान्तनिष्ठ बनाउन व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

पासमानले व्यक्तिगत स्वार्थ, अवसरवाद, गुटबन्दी र अनुशासनहीन प्रवृत्तिका कारण संगठन कमजोर बन्दै गएको उल्लेख गर्दै विधि, विधान र पार्टी अनुशासन सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले इमानदार कार्यकर्तालाई सम्मान र जिम्मेवारी दिनुपर्ने तथा पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि विधानअनुसार निष्पक्ष कारबाही हुनुपर्ने माग गरेका छन् ।

उनले विशेषगरी सिरहा जिल्लामा पार्टी कमजोर बन्दै गएको भन्दै नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कर्जन्हा नगरपालिकाको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक मेयर उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जोगी राउत तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएका शक्ति लामालाई मधेश प्रदेश कमिटीमा समावेश गर्ने प्रयास भइरहेको भन्ने जानकारीले इमानदार कार्यकर्तामा निराशा बढेको उनको दाबी छ ।

विज्ञप्तिमा जिल्ला तहका केही नेतृत्वले यस्ता व्यक्तिलाई संरक्षण गरेको तथा गरिब, दलित र कमजोर वर्गमाथि विभेदपूर्ण व्यवहार भएको आरोपसमेत लगाइएको छ। पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिलाई जिम्मेवारी दिने निर्णयले संगठनको विधि, विधान र अनुशासनमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

पासमानले पार्टी नेतृत्वलाई निष्पक्ष छानबिन गरी संगठनात्मक मूल्य, विधि र अनुशासनलाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरेका छन्। साथै, पार्टीलाई बलियो बनाउने निर्णय नै शहीदहरूको बलिदानप्रतिको वास्तविक सम्मान हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा उनले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका वा पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिलाई थप जिम्मेवारी दिइए आफू सिद्धान्त, नीति र संगठनात्मक मर्यादाप्रति प्रतिबद्ध रहँदै पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

गंगा पासमान हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेश प्रदेश कमिटी सदस्य तथा कर्जन्हा नगरपालिकाका पूर्व मेयर हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट