जनकपुरधाम, साउन ५ गते ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर प्रवेश गर्न नदिइएको विषयलाई लिएर आइतबार मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ ।
साम्पाङ बिहान समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम रहे पनि उनी पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा झडप भएको थियो ।
यसअघि हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको तथा गाईको मासुसम्बन्धी उनले विगतमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।
घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले जनकपुरमा तनाव उत्पन्न भएको उल्लेख गर्दै गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको बताएका छन्। उनले ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यसपछि अर्को स्टाटसमार्फत उनले आफू मन्दिर पुग्नुअघि नै विभिन्न भ्रम फैलाइएको दाबी गर्दै, ‘म जनकपुर पुगेकै छैन, लखेटेको भन्ने भ्रम आइसकेछ,’ भनेर लेखेका छन् ।
पछिल्लो प्रतिक्रियामा साम्पाङले जानकी मन्दिर परिसरमा आफ्ना कार्यकर्तामाथि दुर्व्यवहार भएको दाबी गर्दै त्यसकै कारण आफूले मन्दिर दर्शन गर्न नसकेको बताएका छन्। उनले ‘कुनै दिन जानकी देवीले दर्शन दिनुहोला’ भन्ने टिप्पणी पनि गरेका छन् ।
यसैबीच, उनले गाईको मासुसम्बन्धी आफ्नो पुरानो अभिव्यक्तिलाई आधार बनाएर मन्दिर प्रवेश रोक्न खोजिएको भन्दै प्रश्नसमेत उठाएका छन् ।
यद्यपि, घटनाबारे सम्बन्धित सुरक्षा निकाय वा जानकी मन्दिर व्यवस्थापन समितिबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ ।

