महोत्तरी, साउन ५ गते ।
महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको लक्ष्मी सागरमा सञ्चालन हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिक उत्सव तथा महाआरती कार्यक्रम सम्पन्न भएको छ ।

श्री लक्ष्मी सागर तथा आरती व्यवस्थापन समिति, मटिहानीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव र मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रूपमा गरेका थिए ।

समितिका अनुसार साप्ताहिक संध्या आरती वि.सं. २०७८ साल साउन ५ गतेदेखि प्रत्येक बिहीबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

समितिका अध्यक्ष बरुण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख रामआशिष यादव, नगर प्रमुख हरिप्रसाद मण्डल, नेपाली सेनाको गोरखनाथ गण परिकौलीका गणपति रामप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगर, सशस्त्र प्रहरी बल नं. ९ गण महोत्तरीका एसपी शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख चन्दनकुमार झा, लक्ष्मीनारायण मठका महन्थ जगरनाथ दास वैष्णव तथा उत्तराधिकारी महन्थ रबिन्द्र दास वैष्णवलगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा लक्ष्मी सागर क्षेत्रमा सञ्चालन हुँदै आएको साप्ताहिक संध्या आरतीले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको वक्ताहरूले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट