बर्दिबास, साउन ७ गते ।
महाेत्तरीकाे बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीमा सर्पदंशबाट एक बालकको ज्यान गएको छ। उपचारका लागि गरिएको प्रयास सफल हुन नसकेपछि परिवार शोकमा डुबेको छ भने आर्थिक अभावका कारण मृतकको शव अस्पतालमै रोकिएको छ ।

बुधबार साँझ घर नजिकैको अम्बाकाे रुखमा फल टिपिरहेका ८ वर्षीय विवेक कापरलाई विषालु सर्पले टोकेको थियो। सर्पदंशपछि परिवारले तत्काल बर्दिबास जनसेवा अस्पताल पुर्‍याए पनि भेन्टिलेटरमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो ।

मृतकका बुबा चन्दन कापर र आमा अमृतदेवी कापरका अनुसार छोरालाई बचाउन सकिने आशामा अस्पताल ल्याइएको थियो। तर उपचार सफल हुन सकेन। उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको र आर्थिक अवस्था कमजोर भएकाले उक्त रकम तत्काल तिर्न नसक्दा शवसमेत अस्पतालबाट लैजान नसकिएको उनीहरूले बताएका छन् ।

बर्दिबास नगरपालिका–१२ का वडा सदस्य रुपोदेवी सदाले सर्पदंशपछि बालकको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको जानकारी दिइन् ।

अस्पतालका सञ्चालक सुमन भुजेलले परिवारको अवस्थालाई ध्यानमा राख्दै उपचार शुल्कमा १५ प्रतिशत छुट गरिएको र थप मानवीय सहयोगका विषयमा पनि छलफल भइरहेको बताए ।
घटनापछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेर परिवारसँग भेट गरेका थिए ।

ब्लड फर नेपालका युवा अभियन्ता सरोज कुमार महतोले वर्षायाममा सर्पदंशका घटना बढ्दै गइरहेकाले ग्रामीण क्षेत्रमा जनचेतना, समयमै उपचार र आर्थिक सहायता प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उपचार खर्च अभावका कारण थप पीडा भोग्न नपर्ने गरी राज्यले प्रभावकारी राहत व्यवस्था गर्न माग गरेका छन् ।

युवा नेता पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोकिनुपर्ने अवस्था अन्त्य गर्न राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार