लहान, साउन ७ गते ।
सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। पक्राउपछि मुचुल्का तयार गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार, गोलबजारस्थित सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को कर परीक्षणका क्रममा पालले कर मिलाइदिने भन्दै घुस मागेका थिए। उनले आफूभन्दा माथिका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमा १२ लाख रुपैयाँ मागेका थिए ।
तर, सुपर मार्केट पक्षले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकममा बार्गेनिङ भएको र अन्ततः ५ लाख रुपैयाँमा सहमति भएको खुलेको छ। सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले पाललाई रंगेहात पक्राउ गरेको हो ।
यसअघि कर परीक्षणका क्रममा सुपर मार्केटले कर, जरिवाना र अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ तिर्नुपर्ने बताइएको थियो। त्यसपछि कर दायित्व अझ बढ्न सक्ने संकेत दिँदै घुसको माग गरिएको आरोप अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

