लहान, साउन ७ गते ।
सिरहाको लहानमा लागूऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोक क्षेत्रमा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीका अनुसार भारतको बिहार राज्यका २२ वर्षीय बिद्यानन्द यादव र सप्तरीको रुपनी गाउँपालिका–४ का ४० वर्षीय मो. नसिरको खुट्टामा गोली लागेको छ। दुवै जनाको उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

पक्राउ पर्ने अन्यमा सप्तरीको बोदे बरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, बोदे बरसाइन नगरपालिका–२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव तथा डाक्नेश्वरी नगरपालिका–२ का ३२ वर्षीय मो. ईमामुद्दिन रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट करिब २४३ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार