झापा, साउन ७
झापाको अर्जुनधारा नगरपालिकामा वर्षौंदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेको हो ।
लालपुर्जा प्राप्तसँगै ती परिवार कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्न सफल भएका छन्। लामो समयदेखि आफ्नै नाममा जग्गा नभएका स्थानीयका लागि यो महत्वपूर्ण उपलब्धि बनेको छ ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशका विभिन्न जिल्लामा लालपुर्जा वितरण अभियान सञ्चालन गरिरहेको छ। यसअघि बर्दियाको बढैयाताल र झापाकै बुद्धशान्तीका भूमिहीन परिवारलाई पनि लालपुर्जा वितरण गरिएको थियो ।
सरकारले भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई कानुनी स्वामित्व दिलाउने उद्देश्यसहित लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।

