काठमाडौं, साउन ११ गते ।
नेपाल चिकित्सक संघले आज देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाप्रति विरोध जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
उक्त घटनामा डा. प्रमोद राम गम्भीर घाइते भएपछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। संघले दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै आएको छ ।
नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप लगाइएको छ ।
सो घटनाको छानबिन गरी सम्बन्धित अधिकारीमाथि पनि कारबाही गर्न संघले माग गरेको छ । संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय छलफलपछि सार्वजनिक गर्ने जनाएको छ ।
यसबीच, आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य सेवा बन्द रहने भएकाले आज अस्पताल जाने सेवाग्राहीलाई आवश्यक परे सम्बन्धित अस्पतालसँग सेवा उपलब्धताबारे जानकारी लिएर मात्रै जान आग्रह गरिएको छ ।

