सिरहा, साउन ११ गते ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको समन्वय अभावका कारण कर्मचारीको बारम्बार सरुवा हुने प्रवृत्ति देखिँदै आएको अवस्थामा सखुवानान्कारकट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव झाले भने लगातार ५ वर्ष ५ महिना जिम्मेवारी सम्हालेर उदाहरणीय कार्यकाल पूरा गर्नुभएको छ ।
झाको सरुवापछि रामेन्द्र प्रसाद कुशवाहा गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गर्नुभएको छ। सोमबार गाउँपालिका अध्यक्ष केदारनाथ यादवको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँलाई औपचारिक रूपमा स्वागत गरेका छन् ।
राजिव झाको कार्यकालमा गाउँपालिकामा सुशासन, प्रशासनिक स्थायित्व, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको स्थानीयवासीको भनाइ छ। विशेषगरी नागरिकको सूचनाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सूचना अधिकारी तोक्ने, परिचय बोर्ड राख्ने, सूचना अधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने तथा सार्वजनिक सूचनामा नागरिकको पहुँच सहज बनाउने कार्यलाई उहाँको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले राजिव झाको पाँच वर्षभन्दा लामो योगदानको प्रशंसा गर्दै उहाँले प्रशासनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी कार्यजीवनको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रामेन्द्र प्रसाद कुशवाहालाई शुभकामना दिँदै अध्यक्ष यादवले निष्पक्ष, इमान्दार र जनउत्तरदायी ढंगले कार्य गर्न आग्रह गर्नुभयो। जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष यादवले गाउँपालिकाका सबै शाखालाई सक्रिय, प्रभावकारी र जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिँदै जनभावनाअनुसार विकास निर्माणका कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिनुभयो। सुशासन, पारदर्शिता र विकासमुखी निर्णयमा गाउँपालिका सरकार सधैं प्रतिबद्ध रहने उहाँले स्पष्ट पार्नुभयो ।
गाउँपालिकामा नेतृत्व परिवर्तनसँगै विगतमा स्थापित सुशासन, पारदर्शी प्रशासन र प्रभावकारी सेवा प्रवाहलाई अझ सुदृढ बनाउँदै विकास निर्माणका कामले निरन्तरता पाउने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

