विराटनगर, साउन १२ गते ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजे (DJ) प्रयोग गर्न रोक लगाएको छ ।
मंगलबार जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत सार्वजनिक तथा निजी कुनै पनि कार्यक्रममा डिजे बजाउन वा प्रयोग गर्न पाइने छैन ।
प्रशासनले आदेशको उल्लंघन गरी डिजे प्रयोग गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामार्फत जिल्लावासी सबैलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

