गाैशाला, साउन १२ गते ।
भुमि प्रशासन कार्यालय गौशालाले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित पहिलोपटक सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालय स्थापना भएयता पहिलोपटक आयोजित यस कार्यक्रममा सेवा सुधारका विभिन्न पक्षमा खुला छलफल गरिएको हो ।
अन्तरक्रियामा कार्यालय प्रमुख राजनकुमार बिसी, कर्मचारी, भू–सेवा केन्द्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो, सरल र विश्वसनीय बनाउने उपायबारे सहभागीहरूले आफ्ना धारणा राखेका थिए ।
सञ्चारकर्मीहरूले सेवाग्राहीले भोग्दै आएका समस्या समाधान गर्न कार्यालयको कार्यशैलीमा सुधार आवश्यक रहेको औँल्याउँदै अनावश्यक ढिलासुस्ती अन्त्य गर्न, सूचना प्रणालीलाई व्यवस्थित बनाउन, हेल्प डेस्क सञ्चालन गर्न तथा कार्यालय परिसरमा अनधिकृत व्यक्तिको गतिविधि नियन्त्रण गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कार्यालय प्रमुख बिसीले सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कदम चालिने बताए। उनले कार्यालयका दैनिक गतिविधि सार्वजनिक गर्ने, सेवाग्राहीलाई सहज सूचना उपलब्ध गराउने र उत्तरदायी सेवा प्रणाली विकास गर्दै कार्यालयप्रतिको जनविश्वास बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार कार्यालयसँग सम्बन्धित गुनासा तथा विवादको अध्ययन गर्न सात सदस्यीय टोली गठन गरिनेछ। टोलीको प्रतिवेदनका आधारमा आवश्यक सुधारका निर्णय कार्यान्वयन गरिने उनले जानकारी दिए ।
कार्यक्रमका सहभागीहरूले सरकारी कार्यालय र सञ्चारमाध्यमबीच तथ्यमा आधारित सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सेवाग्राहीलाई सहज, छिटो र सम्मानजनक सेवा उपलब्ध गराउनु नै सार्वजनिक कार्यालयको प्रमुख दायित्व भएको धारणा व्यक्त गरेका थिए ।
यस अवसरमा कार्यालयको उत्तरतर्फ रहेको फोहोरले भरिएको नालाको सरसफाइ र व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने विषय पनि उठाइएको थियो। कार्यालय प्रमुख बिसीले आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

