काठमाडौं, साउन १२ गते ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले सुनसरीको घटनाले समाजमा भय, आक्रोश र अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै यस्तो अवस्था कसैले पनि नचाहेको बताउनुभयो। उहाँले सरकारका तर्फबाट घटनाको गम्भीर समीक्षा भइरहेको र यस्ता घटना पुनः नदोहोरिने गरी आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।
उहाँले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु सामान्य विषय नभएको स्पष्ट पार्दै घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाउनुभयो। सरकारले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउने दायित्व पूरा गर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहले मृतकका परिवार तथा घाइतेलाई छिटो न्यायको अनुभूति गराउन सरकार पूर्ण रूपमा सक्रिय रहेको बताउँदै त्यसबेलासम्म सबैलाई संयम अपनाउन आग्रह गर्नुभयो। उहाँले रिस, आक्रोश र प्रतिशोधको भावना त्यागेर उत्तेजित हुने वा गराउने गतिविधिमा सहभागी नहुन सबैसँग अनुरोध गर्नुभयो ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले सामाजिक सद्भाव, आपसी प्रेम, सम्मान र सहिष्णुता कायम राख्न सबै नागरिकलाई आग्रह गर्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न आह्वान गर्नुभएको छ ।

