कपिलवस्तु, साउन १३ गते ।
कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकअन्तर्गत महाराजगञ्ज नगरपालिका–२ गैंडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ७:१५ बजे बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय घोल्लर कुर्मी तथा ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका कारण घटनास्थल केहीबेर तनावग्रस्त बनेको थियो। प्रहरीको सक्रियतापछि बिहान करिब १० बजेदेखि अवस्था सामान्य बन्दै जनजीवन सहज भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट