राजेश सिंह
जनकपुरधाम, साउन १४ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यू आदेश जारी गरिएको हो ।
प्रशासनले कफ्र्यू लागू भएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ । आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
कफ्र्यू लागू गरिएका क्षेत्रको सीमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चौक हुँदै सिनुरजोडा चौकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यू. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडक र राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिका क्षेत्रदेखि नगराईन चौकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कॉन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिद क्षेत्रसम्म तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कफ्र्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।

