जनकपुरधाम, साउन १४ गते ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मधेश प्रदेशले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
मधेश प्रदेश अध्यक्ष मनिष कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा एक नेपाली नागरिकको मृत्यु र दर्जनौँ नागरिक घाइते भएकोप्रति दुःख व्यक्त गरिएको छ। सङ्घले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विज्ञप्तिमा नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै विवाद समाधानका लागि संवाद र कानुनी प्रक्रिया अपनाउनुपर्ने अवस्थामा बल प्रयोगका कारण नागरिकको ज्यान जानु अत्यन्तै दुःखद र गम्भीर विषय भएको जनाइएको छ।
नेविसङ्घले घटनालाई ढाकछोप गर्ने, तथ्य लुकाउने वा दोषीलाई संरक्षण गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्दै कानुनी शासन कायम गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
साथै, जातीय, धार्मिक वा साम्प्रदायिक भावना भड्काउने गतिविधि, अफवाह र उत्तेजनाबाट टाढा रहन सम्पूर्ण नागरिकसँग अपिल गरिएको छ। सत्य, न्याय, शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला निकायले जिम्मेवार भूमिका खेल्नुपर्ने नेविसङ्घको भनाइ छ ।
विद्यार्थी समुदायलाई पनि संयमित रहँदै सामाजिक सद्भाव कायम राख्न र कुनै पनि प्रकारको हिंसा तथा द्वन्द्वलाई निरुत्साहित गर्न सक्रिय भूमिका निर्वाह गर्न नेविसङ्घ मधेश प्रदेशले आग्रह गरेको छ ।

