विष्णु गुप्ता
जलेश्वर, साउन १४ गते ।

महाेत्तरीकाे जलेश्वर उद्योग वाणिज्य सङ्घले सुनसरीको देवानगञ्जलगायत पूर्वी जिल्लामा भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले घटनाबाट सिर्जित तनावपूर्ण अवस्थाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म घटनामा तीन जनाको मृत्यु भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा नेपाल सरकार तथा स्थानीय प्रशासनलाई घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

साथै, सम्पूर्ण नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक संघ–संस्था, हिन्दुवादी संगठन, क्लब, समिति तथा सरोकारवाला पक्षलाई संयम अपनाउन, दोषीलाई कानुनी दायरामा ल्याउन सहयोग गर्न तथा उद्योग, व्यापार, निजी र सार्वजनिक सम्पत्तिमा कुनै प्रकारको क्षति हुन नदिन अपिल गरिएको छ ।

जलेश्वर उद्योग वाणिज्य सङ्घले वर्तमान परिस्थितिमा सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्य कायम राख्दै संवादका माध्यमबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष शिवचन्द्र चौधरी र महासचिव राजकुमार पूर्वेद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा मानवीय, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षति हुन नदिन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार