सुनसरी, साउन १४ गते ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ ।
साउन १४ गते भएको सहमतिअनुसार सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक मृतकका परिवारलाई रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ। देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन पनि तत्काल सुरु गरिने भएको छ ।
सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ । साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारको समन्वयमा स्मृति पार्क निर्माण गरिने उल्लेख छ । मृतकको मिति : २०८३/०४/१५ गते दिउँसो २ बजे दास संस्कार गर्ने सहमति भएको उल्लेख गरिएको छ ।
उक्त सहमतिपत्रमा पीडित परिवारका अभिभावक तथा गृहमन्त्री सुदन गुरुङको तर्फबाट हस्ताक्षर भएको छ । सहमतिसँगै पीडित पक्षले जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।


