चमेली सिंह
गाैशाला, साउन १५ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाले देशका विभिन्न स्थानमा स्थानीय समुदायबीच देखिएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैमा हार्दिक अपिल गरेको छ ।
नगर प्रमुख डा. विपेन्द्र महतोद्वारा जारी अपिलमा घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
अपिलमा नेपाली समाज परम्परादेखि नै आपसी सद्भाव, सहिष्णुता, भाइचारा र पारस्परिक सम्मानको भावनामा आधारित रहेको उल्लेख गर्दै कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजनलाई स्वीकार नगर्ने स्पष्ट पारिएको छ।
नगरपालिकाले कुनै एक स्थानमा भएको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण नगर्न तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा सरोकारवालालाई धैर्य, संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ ।
गौशाला नगरपालिकाले शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सामाजिक सहिष्णुता कायम गर्न सम्पूर्ण नगरवासी तथा आम नागरिकमा सहयोग र संयम अपनाउन पुनः अनुरोध गरेको छ ।

