गाैशाला, साउन १५ गते ।
महोत्तरीकाे बर्दिवासमा धार्मिक सद्भाव, सामाजिक एकता र सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यले सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ। बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा मुस्लिम समुदायका अगुवालाई सम्मान गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले कुनै पनि प्रकारको धार्मिक उक्साहट वा सामाजिक सद्भाव भंग गर्ने गतिविधिविरुद्ध एकजुट भएर उभिने अठोट व्यक्त गरेका हुन् ।

सुनसरीबाट सुरु भएको धार्मिक तनाव मधेशका विभिन्न जिल्लामा फैलिरहेको अवस्थाबीच बर्दिवासले भने शान्ति, सहिष्णुता र आपसी विश्वासको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै धार्मिक विविधताबीचको भाइचारा अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। स्थानीय वकिल नदाफले बर्दिवासको सामाजिक संरचना धार्मिक सहिष्णुताको उदाहरण भएको उल्लेख गर्दै देशभर यस्तै वातावरण कायम हुनुपर्ने बताए ।

नेकपाका नेता चुडामणि पोखरेलले विगतमा केही अवाञ्छित समूहले बर्दिवासको छवि बिगार्ने प्रयास गरे पनि स्थानीयवासी सधैं सामाजिक एकताको पक्षमा उभिएको बताए। एमाले नेता शंकर महतोले कुनै पनि बहानामा हुने षड्यन्त्रलाई समयमै पहिचान गरी प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्नुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले धर्मका नाममा बर्दिवासमा आन्दोलन वा सामाजिक सद्भाव बिथोल्ने प्रयास भए त्यसको सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बर्दिवास सामाजिक सद्भावका दृष्टिले सधैं उदाहरणीय नगर रहँदै आएको उल्लेख गर्दै त्यसलाई कायम राख्न सबै नागरिकलाई आह्वान गरे। स्थानीय युवा रेवन्त कार्कीले विगतका संवेदनशील घटनामा पनि बर्दिवासवासीले धार्मिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्मरण गराए ।

कार्यक्रममा बर्दिवास–३ कालापानी घटनाको प्रसंग पनि उठाइएको थियो। सहभागीहरूले स्थानीयवासी र जनप्रतिनिधिमाथि दर्ता गरिएका मुद्दाप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता विषयलाई संवेदनशील ढंगले समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार