सिरहा, साउन १५ गते ।
सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलपछि परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै सहमति गरिएको हो ।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, बुबाआमाको निःशुल्क उपचार, गणेशको नाममा स्मृति पार्क निर्माण तथा दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ । साथै आवास निर्माणकाे लागि आवश्यक पहल गर्ने, परिवारले शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।
गृहमन्त्री गुरुङका अनुसार पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको शव हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइनेछ ।
साथै, सुनसरी र सिरहामा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन अनुभवी अनुसन्धानकर्ता र विज्ञ सम्मिलित छानबिन समिति गठन गरिएको जनाउँदै सरकारले निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ ।


