बर्दिवास, साउन १६ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले शनिबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका छन् । वन प्रशासनसँगको विवादपछि स्थानीयविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता नभएको भन्दै उनीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले ‘झुठा मुद्दा फिर्ता गर’, ‘घटनाका दोषी DFO लाई कारबाही गर’ र ‘स्थानीयसँग भएको सहमति कार्यान्वयन गर’ भन्ने नारासहित राजमार्गमा धर्ना दिएका छन्। आन्दोलनका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको छ भने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

यसअघि कालापानीमा बसेको सर्वदलीय बैठकले चार स्थानीयमाथि झुठो मुद्दा दर्ता गरिएको निष्कर्ष निकाल्दै तीन दिनभित्र समस्या समाधानका लागि पहल गर्न बर्दिबास नगरपालिकालाई जिम्मेवारी दिएको थियो। त्यसअनुसार प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, सुरक्षा निकाय र राजनीतिक दलबीच छलफल भए पनि मुद्दा अनुसन्धानको चरणमा रहेकाले तत्काल फिर्ता लिन नसकिने प्रशासनको अडानपछि सहमति हुन सकेन ।

प्रशासनलाई दिइएको तीन दिने समयसीमा सकिएपछि माग पूरा नभएको भन्दै स्थानीयले आन्दोलनलाई सडक संघर्षमा रूपान्तरण गरेका हुन् ।

गत जेठ ११ गते वन अतिक्रमण हटाउने सूचना टाँस्न पुगेको डिभिजन वन कार्यालयको टोली र स्थानीयबीच विवाद भएको थियो। घटनाका क्रममा सरकारी गाडीमा आगजनी भएको, प्रहरी हस्तक्षेपपछि तनाव बढेको तथा त्यसपछि उपचार, धरपकड नगर्नेलगायत विषयमा सहमति भएको स्थानीयको दाबी छ। तर, पछि चार जनाविरुद्ध मुद्दा दर्ता गरिएपछि आन्दोलन पुनः चर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार