जनकपुरधाम, साउन १६ गते ।
जनकपुरधाममा जारी आन्दोलनका बीच नेपाल सरकार र संयुक्त हिन्दु मोर्चाबीच शनिबार भएको वार्ताले सकारात्मक निष्कर्ष निकालेको छ। दुई चरणमा भएको छलफलपछि आन्दोलनरत पक्षले अघि सारेका १३ बुँदे मागलाई सम्बोधन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको हो ।
वार्तामा हिन्दू राष्ट्रको मागसहित विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक विषय समेटिएका मागहरू प्रस्तुत गरिएको थियो। तीमध्ये थप छलफल आवश्यक पर्ने विषयमा सरकारले आगामी तीन महिनाभित्र आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले सहमतिअनुसार सरकार मागहरूलाई सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार अघि बढाउन सहमत भएको जानकारी दिए ।
सुनसरी घटनापछि मधेश प्रदेशमा बढेको तनावलाई सहज बनाउने, धार्मिक सद्भाव कायम गर्ने र संवादमार्फत समस्या समाधान खोज्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि तथा संयुक्त हिन्दु मोर्चाका प्रतिनिधिबीच वार्ता भएको थियो ।
सहमतिपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित हुने र दुबै पक्षले संवादलाई निरन्तरता दिने समझदारी बनेको जनाइएको छ ।

