ईन्दल राउत
गौशाला: साउन महिनामा भगवान् शिवप्रति आस्था राख्ने बोलबम यात्रु तथा श्रद्धालु भक्तजनलाई लक्षित गर्दै महोत्तरीको गौशाला नगरपालिका–१ स्थित श्री टुटेश्वरनाथ महादेव मन्दिर परिसरमा ‘बोलबम प्रसाद वितरण कार्यक्रम–२०८३’ आयोजना गरिने भएको छ ।
कार्यक्रमअन्तर्गत मन्दिरमा दर्शनका लागि आउने श्रद्धालुहरूलाई निःशुल्क प्रसाद, फलफूल, फ्रुटी तथा शुद्ध मिनरल पिउने पानी वितरण गरिने आयोजकले जनाएको छ।
धार्मिक सेवामूलक कार्यक्रम गौशाला नगरपालिका–१ निवासी पूर्ण माया ध्रुङ्गचिङ्ग तथा समस्त ध्रुङ्गचिङ्ग परिवारको आयोजनामा सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार साउन महिनाभर नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ बोलबम यात्री र शिवभक्त टुटेश्वरनाथ महादेव मन्दिरमा जल चढाउन तथा दर्शन गर्न आउने भएकाले उनीहरूको सेवा, सहजता र धार्मिक भावनाको सम्मानस्वरूप निःशुल्क प्रसाद वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
आयोजक पूर्ण माया ध्रुङ्गचिङ्गले धार्मिक तथा सामाजिक सेवामूलक कार्यलाई सबैले आफ्नो क्षमता अनुसार निरन्तरता दिनुपर्ने बताउँदै यस्ता अभियानबाट टाढा–टाढाबाट आउने श्रद्धालुहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्य संघसंस्था, परिवार तथा समाजसेवीलाई पनि यस्ता निःशुल्क सेवामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ।
उहाँले सम्पूर्ण बोलबम यात्रु, शिवभक्त तथा श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई प्रसाद ग्रहण गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ ।
उल्लेखनीय छ, श्री टुटेश्वरनाथ महादेव मन्दिर महोत्तरीको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। विशेषगरी साउन महिनामा यहाँ नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन जल चढाउन तथा दर्शन गर्न आउने गर्दछन् ।

