जनकपुरधाम, साउन १९ गते ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको फ्यूल सरचार्ज वृद्धि गरेको छ। प्राधिकरणको निर्णयअनुसार नयाँ भाडादर मंगलबारदेखि लागू भएको हो ।
आयल निगमले साउन १७ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ कायम गरेपछि सोहीअनुसार फ्यूल सरचार्ज समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा जारी परिपत्रअनुसार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर, सीता एयरलगायत सबै आन्तरिक वायुसेवा कम्पनीले नयाँ भाडादर लागू गर्नेछन् ।
भाडा वृद्धिको सबैभन्दा बढी असर विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ टिकट १,२९० रुपैयाँले महँगिएको छ। त्यसपछि नेपालगञ्ज–भद्रपुरमा १,१७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १,१०० रुपैयाँले वृद्धि भएको छ ।
काठमाडौंबाट सञ्चालन हुने उडानमध्ये धनगढीमा ८८० रुपैयाँ, नेपालगञ्जमा ६५५ रुपैयाँ, भद्रपुरमा ६०५ रुपैयाँ, विराटनगरमा ४८० रुपैयाँ, भैरहवामा ४१० रुपैयाँ, पोखरामा ३१५ रुपैयाँ, जनकपुरमा २६० रुपैयाँ र सिमरामा १८० रुपैयाँले टिकट महँगिएको छ ।
त्यसैगरी, पोखरा–भद्रपुर रुटमा ८१० रुपैयाँ, पोखरा–धनगढीमा ६८५ रुपैयाँ, पोखरा–जनकपुरमा ५२५ रुपैयाँ तथा काठमाडौंबाट सञ्चालन हुने माउन्टेन फ्लाइटमा पनि ६८५ रुपैयाँले भाडा बढेको छ ।
प्राधिकरणका अनुसार नयाँ फ्यूल सरचार्जसहितको भाडादर मंगलबारदेखि नै कार्यान्वयनमा आएको छ ।

