काठमाडौं, साउन १९ गते ।
उपचारका क्रममा मृत्यु भएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले मंगलबार छलफल गरेका छन् ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको वार्तामा मेहताको मृत्यु पछिको अवस्था, परिवारका माग तथा घटनासम्बन्धी विषयमा छलफल भएको जनाइएको छ।
साउन १० गते राति कप्तानगञ्जमा भएको घटनामा घाइते भएका मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
त्यसपछि सरकारले परिवारसँग प्रत्यक्ष संवाद सुरु गरेको हो । यसअघि गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरी पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति–सुरक्षा तथा समुदायबीचको आपसी सद्भाव कायम गर्ने विषयमा छलफल गरेका थिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकारले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रभावित पक्षसँग निरन्तर संवाद र शान्तिपूर्ण समाधानको पहललाई प्राथमिकता दिएको छ ।

