पवन प्रसाद साह
बिरगंज, साउन २० गते ।
विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, बिरगंजको नर्सिङ विभागले बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

“Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पताल निर्देशक डा. इशरत जहान ले गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक खेलौना र विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलमार्फत सिकाइको महत्त्वबारे जानकारी दिइएको थियो। साथै, आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका र शिशुको स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक खेलौनामार्फत खेल्दै सिक्ने विधि, सिर्जनात्मकता र बाल विकासका विभिन्न पक्षबारे जानकारी हासिल गरेका थिए ।

यसै अवसरमा नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम वितरण गरिएको थियो । यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाप्रति नर्सिङ विभागले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार