रौतहट, साउन २१ गते ।
रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेर आगलागी भएको छ ।
बाराको अमलेखगञ्ज डिपोबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याङ्करमा भीषण आगो लागे पनि चालक समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार चालक सकुशल रहेका छन् ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दमकलको संयुक्त टोली परिचालन गरी आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले यातायात सञ्चालन सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

