काठमाडौं, साउन २१ गते ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ रूपरेखा सार्वजनिक गरेको छ। निर्वाचन हुन करिब आठ महिना बाँकी रहँदा पार्टीले ‘क्यान्डिडेट क्लब’ अवधारणासहित वैज्ञानिक र वस्तुपरक मूल्यांकन प्रणाली लागू गर्ने घोषणा गरेको हो ।
पार्टीले मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यसहित सबै पदका आकांक्षीलाई अनिवार्य रूपमा ‘पालिका क्यान्डिडेट क्लब’ वा ‘वडा क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ। आवेदन दिन कानुनी योग्यता, पार्टीको साधारण सदस्यता तथा पार्टीको नीति–सिद्धान्तप्रति प्रतिबद्धता आवश्यक हुनेछ। साथै घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर बुलिङ, वैवाहिक अवस्था र मुद्दासम्बन्धी स्वघोषणा पनि अनिवार्य गरिएको छ ।
रूपरेखाअनुसार उम्मेदवार छनोट चार चरणमा हुनेछ। पहिलो चरणमा लिडरसिप एकेडेमी (२५ प्रतिशत) अन्तर्गत प्रशिक्षण र परीक्षा हुनेछ। दोस्रो चरणमा पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत) मार्फत संगठनमा सक्रियता, जनसमर्थन, लोकप्रियता, आचरण र सामाजिक मूल्यांकन गरिनेछ। तेस्रो चरणमा समावेशी सम्बोधन (१० प्रतिशत) का आधारमा अंक दिइनेछ, तर यसअघि आरक्षण वा उच्च राजनीतिक जिम्मेवारी पाइसकेकाले यो अंक पाउने छैनन्। अन्तिम चरणमा पार्टीको आन्तरिक निर्वाचन (४० प्रतिशत) हुनेछ ।
आन्तरिक निर्वाचनमा तीन तहका मतदाता रहनेछन्। क्रियाशील सदस्यको मतभार ७५ प्रतिशत, मध्यवर्ती सांगठनिक संरचनाको १५ प्रतिशत र केन्द्रीय पदाधिकारी तथा संघीय सांसदहरूको १० प्रतिशत मतभार रहने व्यवस्था गरिएको छ ।
रास्वपाले रूपरेखा कार्यान्वयनका लागि १९ सदस्यीय समिति गठन गर्ने जनाएको छ। आर्थिक चलखेल, धाँधली, गुटबन्दी र चरित्रहत्याजस्ता गतिविधिमाथि कडा अनुशासनात्मक कारबाहीको व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा भने केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट नियमित प्रक्रिया बाहिर गएर पनि उम्मेदवार छनोट गर्न सकिने प्रावधान राखिएको छ ।

