सिरहा, साउन २१ गते ।
सुनसरीको देवानगञ्ज घटनापछि ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा गोलबजारमा आयोजित श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ ।

बिहीबार उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा सांसद यादवले मधेशमा देखिएको तनाव र हिंसाप्रति सरकारभन्दा समाजका केही व्यक्ति तथा विपक्षी दलहरू जिम्मेवार रहेको आशय व्यक्त गरेका थिए। उनको अभिव्यक्तिप्रति सभामा उपस्थित केही सहभागीले श्रद्धाञ्जली कार्यक्रममा राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार त्यसपछि सभास्थलमा भनाभन भएको र कार्यक्रम प्रभावित बनेको थियो। विवाद बढेपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यादवले आफूले कुनै गलत अभिव्यक्ति नदिएको दाबी गर्दै विरोध विपक्षी दलबाट आएको प्रतिक्रिया जनाएका छन् ।

यता, मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले भने श्रद्धाञ्जली तथा सामाजिक सद्भावका लागि आयोजना गरिएको कार्यक्रममा राजनीतिक अभिव्यक्तिले अनावश्यक विवाद निम्त्याएको आरोप लगाएका छन् ।

आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सद्भाव र्‍याली निकालेर बजार सञ्चालन गर्ने योजना थियो। तर, कार्यक्रममा विवाद भएपछि त्यसको आगामी कार्यक्रमबारे अन्योल उत्पन्न भएको बताइएको छ ।

नोट: यस समाचारमा उल्लेख गरिएका आरोप, प्रतिक्रिया र दाबी सम्बन्धित पक्षहरूको भनाइमा आधारित छन्। घटनाबारे आधिकारिक निकायबाट विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार