काठमाडौं, साउन २१ गते ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसद डा. अमरेशकुमार सिंह र सांसद रमेश प्रसाईंबीच चर्को भनाभन भएको छ ।

नेपालमा प्रतिव्यक्ति सुरक्षाकर्मीको संख्या अत्यधिक रहेको भन्दै सिंहले देश ‘सैन्यीकरण’ तर्फ उन्मुख भएको टिप्पणी गरेपछि प्रसाईंले त्यसप्रति आपत्ति जनाएका थिए। केहीबेर तनावपूर्ण बनेको बैठकमा सिंहले आफ्नो धारणा तथ्यमा आधारित रहेको दाबी गर्दै सांसदहरूले स्वतन्त्र रूपमा विचार राख्न पाउनुपर्ने बताए ।

सिंहले शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि र पूर्वाधारभन्दा सुरक्षा संरचना विस्तारमा सरकारले बढी जोड दिएको आरोप लगाए। मधेसलगायतका आन्दोलनमा सुरक्षा बलको प्रयोगले मधेसी, जनजाति, दलित र थारु समुदायमा मनोवैज्ञानिक त्रास सिर्जना भएको दाबी गर्दै उनले मधेसबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गरे ।

साथै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्नु नै वास्तविक राष्ट्रियता भएको उनको भनाइ थियो।
विवाद चर्किएपछि सांसद रमेश प्रसाईंले अग्रजप्रति क्षमायाचना गरेसँगै बैठक पुनः सञ्चालन भएको थियो। सिंहले सुरक्षा निकायको परिचालन, संरचना र पछिल्ला गतिविधिबारे राज्य व्यवस्था समितिमा छुट्टै विस्तृत छलफल गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार