बैतडी, साउन २१ गते ।
दुर्गम क्षेत्रका दलित तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बैतडीको पाटन नगरपालिका–४ जेउडेमा रहेको मसानि दलित आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको छ ।

जय नेपाल इन्टरनेसनल फाउन्डेसन, नर्थ क्यारोलिना राज्य समिति, अमेरिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ४२ जना दलित विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो। साथै विद्यालयलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।

कुल ५६ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको आयोजकले जनाएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये करिब ९५ प्रतिशत दलित समुदायका बालबालिका रहेका छन्।
विद्यार्थीको पठनपाठनमा उत्साह बढाउने र आवश्यक शैक्षिक सामग्रीको अभाव कम गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका कार्यसमिति सदस्य तथा अन्य सामाजिक व्यक्तित्वबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी सामग्री खरिद गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसन्ती लाबडको अध्यक्षतामा भएको कार्यक्रममा जय नेपाल इन्टरनेसनल फाउन्डेसन नर्थ क्यारोलिनाका प्रतिनिधि बासुदेव भट्ट प्रमुख अतिथि थिए। कार्यक्रममा प्राध्यापक मानबहादुर चन्द र पूर्व गाउँ विकास समिति अध्यक्ष उत्तरबहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर ऐरीले विकट क्षेत्रका दलित तथा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि प्रवासमा रहेर पनि सहयोग गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे ।

प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए ।

विद्यालयमा आवश्यक सामग्री सहयोग पाएपछि विद्यार्थीको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्साह बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार