जनकपुरधाम, साउन २१ गते ।
इन्जिनियर बन्ने सपना बोकेर पढिरहेका सुनसरीका १८ वर्षीय अमित यादव अहिले अस्पतालको आईसीयूमा जीवनसँग संघर्ष गरिरहेका छन्। केही साताअघिसम्म कलेज जाने, पढ्ने र भविष्यको योजना बनाउने उनको दैनिकी साउन ११ गतेपछि एकाएक बदलिएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको साम्प्रदायिक झडपका क्रममा अमितलाई तीन गोली लागेको थियो। गोली छाती, पेट र बायाँ हातमा लागेको हो ।
घटनापछि उनलाई तत्काल विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको थियो। पाँच दिनको उपचारपछि थप उपचारका लागि साउन १४ गते काठमाडौं ल्याइएको अमितको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार अस्पताल ल्याएलगत्तै अमितको शल्यक्रिया गरिएको थियो। उनको शरीरबाट तीनवटै गोली निकालिएको छ। हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ भने थप शल्यक्रिया आवश्यक रहेको चिकित्सकले बताएका छन् ।
अमितको बायाँ हातमा लागेको चोट सबैभन्दा गम्भीर छ। चिकित्सकहरू हात जोगाउने प्रयासमा रहे पनि चोटको अवस्था जटिल भएकाले भविष्यमा हात काट्नुपर्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने अवस्था छ ।
‘हामी झगडा गर्न गएका थिएनौँ’
अमितसँगै घटनास्थल पुगेका आलोक यादवका अनुसार साउन ११ गते राति करिब ९ बजेतिर गाउँमा ठूलो आवाज सुनिएको थियो। घरभन्दा करिब ५०० मिटर पर झडप भइरहेको खबर फैलिएपछि अमितसहित उनीहरू घटनास्थलतर्फ गएका थिए ।
‘हामी झगडा गर्न गएका थिएनौँ, के भएको रहेछ भनेर मात्रै हेर्न गएका थियौँ,’ आलोकले भने ।
घटनास्थल पुगेको केही मिनेटमै गोली चलेको र त्यसक्रममा अमित भुइँमा ढलेको उनले बताए। अमितको छाती, पेट र हातमा गोली लागेको थियो ।
घटना भएको केही समयमै अमितका आमाबुवा पनि घटनास्थल पुगे। त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।
किसान परिवारको ठूलो सपना
अमितका बुबाआमा कृषि पेसामा छन्। खेतीपाती गरेर उनीहरूले छोराको पढाइ खर्च जुटाउँदै आएका थिए। पढाइमा मेहनती अमितको लक्ष्य भने इन्जिनियर बन्ने थियो।
‘ऊ धेरै मेहनती मान्छे हो। सधैँ इन्जिनियर बन्छु भनेर पढिरहेको थियो,’ आफन्त रोशनकुमार यादवले भने।
तर, अहिले अमितको हातको अवस्थाले उनको भविष्यबारे परिवारमा चिन्ता बढाएको छ ।
‘अब उसको सपना पूरा नहुने पो हो कि भन्ने डर लाग्छ। हात के हुने हो भन्ने अझै थाहा छैन,’ रोशनले भने।
उनका अनुसार विराटनगरमा उपचारका क्रममा हात काट्नुपर्ने भनिएपछि परिवारले उनलाई काठमाडौं ल्याएको हो। काठमाडौंमा चिकित्सकहरूले हात जोगाउने प्रयास गरिरहेका छन्।
‘हाम्रो चाहना हात बच्नुपर्यो। नत्र उसलाई जीवनभर गाह्रो हुन्छ,’ रोशनले भने ।
विवादबाट झडपसम्म
आलोकका अनुसार घटनाको पृष्ठभूमि करिब एक महिनाअघिदेखि नै बनेको थियो। देवानगन्ज–३ कप्तानगन्जमा धार्मिक कार्यक्रमपछि सार्वजनिक स्थानमा झण्डा राखिएको विषयलाई लिएर दुई समुदायबीच विवाद उत्पन्न भएको बताइएको छ ।
साउन ११ गते कोसी ब्यारेजबाट जल ल्याएर डिजे बजाउँदै फर्किएको हिन्दु समूह र आवाज कम गर्न आग्रह गर्न आएका मुस्लिम समुदायका युवाबीच भनाभन भएको थियो। केहीबेरमै भनाभन झडपमा परिणत भएको स्थानीयको भनाइ छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। सुरुमा लाठीचार्ज, त्यसपछि अश्रुग्यास र हवाइ फायर गरिएको स्थानीयले बताएका छन्। त्यसक्रममा गोली चलेपछि अमित घाइते भएका थिए ।
गोली लागेर जयप्रकाशको मृत्यु
सोही घटनामा जयप्रकाश मेहताको मृत्यु भएको बताइएको छ। आलोकका अनुसार जयप्रकाशलाई उनका बुबाले बाहिर नजान आग्रह गरेका थिए। तर, ‘हेरेर आइहाल्छु’ भन्दै उनी घरबाट निस्किएका थिए ।
जयप्रकाशकी श्रीमती पाँच महिनाकी गर्भवती रहेको बताइएको छ।
घटनामा जयप्रकाशलाई कसले गोली चलायो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।
कप्तानगन्जको घटनापछि मधेसका विभिन्न स्थानमा प्रदर्शन र तनाव बढेको थियो। उक्त घटनाक्रममा चार जनाको मृत्यु भएको र करिब ४० जना घाइते भएको बताइएको छ ।
एकातिर साम्प्रदायिक तनावको असरले परिवारहरू शोकमा छन् भने अर्कोतिर अमितजस्ता घाइतेहरू आफ्नो जीवन र भविष्य जोगाउन अस्पतालको शय्यामा संघर्ष गरिरहेका छन् ।
अमितको अगाडि अहिले एउटै प्रश्न छ—तीन गोलीले उनको शरीरमा पुर्याएको चोट निको होला, तर उनको इन्जिनियर बन्ने सपना फेरि उभिन सक्ला ?

