गोलबजार, साउन २२ गते ।
प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवार अब आफ्नै घरमा बस्न पाउने भएको छ। आर्थिक रूपमा विपन्न यादव परिवारका लागि मधेश प्रदेश सरकारले घर निर्माण गरिदिने निर्णय गरेको हो ।
सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गत साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। उनको मृत्युपछि आर्थिक समस्यामा रहेको परिवारलाई राहतस्वरूप प्रदेश सरकारले आवास निर्माणको पहल अघि बढाएको हो ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत यादव परिवारका लागि दुई कोठा, भान्साघर र शौचालयसहितको घर निर्माण गरिनेछ ।
यस विषयमा मधेश प्रदेशका शिक्षामन्त्री मनोजकुमार सिंह र गणेशका परिवारबीच शुक्रबार साँझ सहमति भएको हो।
मन्त्री सिंहका अनुसार केही समयअघि गणेशको घरमै पुगेर परिवारसँग भेट गर्दा उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको थियो। त्यसपछि परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने विषयमा प्रदेश सरकारमा छलफल गरिएको थियो ।
छलफलपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको आवास योजनाबाट घर निर्माण गर्ने निर्णय भएको मन्त्री सिंहले बताए।
घर निर्माणका लागि प्रदेश सरकारले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको उनको भनाइ छ। परिवारले घर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि तत्काल निर्माण कार्य सुरु गरिने मन्त्री सिंहले जानकारी दिए ।
सहमति कार्यक्रममा मृतक गणेशका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादवलगायतको उपस्थिति थियो ।
प्रदेश सरकारको यो निर्णयले छोराको मृत्युको पीडासँगै आर्थिक संकट झेलिरहेको यादव परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

