माेरङ, साउन २२ गते ।
माेरङकाे पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित ५२ औँ ब्याच जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) संस्थागत तालिमको अनुगमन तथा निरीक्षण गरिएको छ ।
राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले शुक्रबार विद्यालयमा पुगेर सञ्चालित तालिमको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा प्रमुख सेनानी श्रेष्ठले एनसीसी तालिमले विद्यार्थीको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता, कार्यदक्षता, अनुशासन र राष्ट्रप्रेमको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमले जिम्मेवार, अनुशासित र सक्षम नागरिक निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले एनसीसीजस्ता तालिमले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, अनुशासन र राष्ट्रसेवाको भावना विकास गर्ने बताउनुभयो ।
उहाँले खेलकुद तथा शारीरिक व्यायामले विद्यार्थीलाई स्वस्थ र अनुशासित बनाउनुका साथै भविष्यमा समाज तथा राष्ट्रसेवामा समर्पित हुन प्रेरित गर्ने उल्लेख गर्दै सहभागी क्याडेटलाई शुभकामना दिनुभयो ।
विद्यालयका प्राचार्य टीएन तिम्सिनाले एनसीसी तालिमले विद्यार्थीको कार्यक्षमता र नेतृत्व विकाससँगै राष्ट्रप्रेम तथा विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुगेको बताउनुभयो ।
उहाँले यस्ता तालिमलाई निरन्तरता दिन सके विद्यालय, समाज र राष्ट्रलाई दीर्घकालीन लाभ पुग्ने धारणा राख्नुभयो ।
३० क्याडेटको आकर्षक प्रस्तुति
निरीक्षणका क्रममा रेडस्टार माध्यमिक विद्यालयका ३० जना एनसीसी क्याडेटले विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए। १५ छात्रा र १५ छात्र गरी सहभागी क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा ड्रिल प्रदर्शन गरेका थिए ।
क्याडेटहरूको अनुशासित र आकर्षक प्रस्तुतिले कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकको विशेष ध्यान खिचेको थियो।
कार्यक्रममा राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिलाका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठ, सिनियर सुवेदार मिगेन्द्रप्रसाद दाहाललगायतका प्रतिनिधि, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त तथा प्रहरी प्रतिनिधि, पथरीशनिश्चरे–२ का जनप्रतिनिधि चन्द्रकुमार राई र खिलनाथ घिमिरेको उपस्थिति थियो ।
त्यस्तै क्याडेट विद्यार्थीका अभिभावक, विद्यालयका शिक्षक, विद्यालय सञ्चालक समितिका तर्फबाट बुद्धीनाथ अधिकारी, राजु तिम्सिनालगायत पदाधिकारी तथा एनसीसी क्याडेट विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


