रहमुल
लहान: हातमा सीप भए आत्मनिर्भर बन्न सकिन्छ भन्ने उद्देश्यसहित सिरहाको लहान नगरपालिका–२३ गाढाका १९ महिलाले दुईमहिने निःशुल्क बेसिक सिलाई–कटाई तालिम पूरा गरेका छन् ।

मिथिला सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। सीपविहीन महिलालाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार र आयआर्जनमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिममा सहभागी महिलाहरूले अब सिकेको सीपलाई व्यवहारमा उतार्दै घरमै सिलाई–कटाईको काम सुरु गर्ने तथा आयआर्जनको बाटोमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लहान नगरपालिका–२३ का वडा अध्यक्ष बद्री यादव, घरेलु तथा साना उद्योग कार्यालय लहानका कार्यक्रम संयोजक बैद्यनाथ झा, मिथिला सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विलक्षणप्रसाद महतो, संस्थापक राजेशकुमार गुप्तालगायत जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयको उपस्थिति थियो ।

वक्ताहरूले महिलालाई सीपयुक्त बनाउनु आर्थिक तथा सामाजिक सशक्तीकरणको महत्वपूर्ण आधार भएको बताए। उनीहरूले तालिम लिएर प्रमाणपत्र प्राप्त गर्नु मात्रै उपलब्धि नभई सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिनुपर्नेमा जोड दिए।
स्थानीय तह, सरकारी निकाय र समुदायबीच सहकार्य हुन सके यस्ता सीपमूलक कार्यक्रम अझ प्रभावकारी बन्ने उनीहरूको भनाइ थियो ।

मिथिला सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा महिलाको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले थप सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

दुई महिनाको तालिमपछि प्रमाणपत्र हातमा लिएका १९ महिलाका लागि यो केवल तालिमको अन्त्य नभई आफ्नै सीपबाट आम्दानी गर्ने नयाँ यात्राको सुरुवात बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार