बाजुरा, साउन २२ गते ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा स्थायी खाद्य डिपो स्थापना हुने भएको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले डिपो स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी मन्त्री गौरी कुमारीको सहयोग, बाजुरा प्रतिनिधिसभा सदस्य जनकराज गिरीको पहल, नेपाल खाद्य कम्पनी लिमिटेडको सहजीकरण तथा स्वामिकार्तिक खापर गाउँपालिकाको निरन्तर प्रयासपछि मुक्तिकोटमा खाद्य डिपो स्थापना गर्ने स्वीकृति प्रक्रिया अघि बढेको जनाइएको छ ।
भारतिय राजदूतावासको सहयोगमा निर्माण भइरहेको फुड ग्रेन स्टोर (खाद्य भण्डारण गृह) मै डिपो सञ्चालन गर्ने तयारी गरिएको छ। डिपो सञ्चालनमा आएपछि स्वामिकार्तिक खापर गाउँपालिकाका बासिन्दासँगै छिमेकी कालिकोटको पलाँता गाउँपालिकाका नागरिकले समेत खाद्यान्नको सहज पहुँच पाउने अपेक्षा गरिएको छ ।
डिपोको अर्को महत्वपूर्ण पक्ष स्थानीय कृषि उत्पादनसँग जोडिएको छ। यहाँका किसानले उत्पादन गर्ने कोदो, जौ, उवा, सिमी, रातो चामललगायतका कृषि उपजलाई नेपाल खाद्य कम्पनीको चामलसँग साटासाट गरी उपभोग गर्न सकिने व्यवस्था मिलाउने तयारी गरिएको छ ।
यसबाट दुर्गम क्षेत्रमा खाद्य संकटको समयमा बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने निर्भरता घट्नुका साथै स्थानीय उत्पादनले समेत बजार पाउने अपेक्षा गरिएको छ ।
स्थायी खाद्य डिपो स्थापना र स्थानीय उत्पादनको प्रवर्द्धनलाई स्थानीयवासीले दुर्गम क्षेत्रको खाद्य सुरक्षाका लागि महत्वपूर्ण पहलका रूपमा लिएका छन्। डिपो सञ्चालनमा आएपछि खाद्यान्नको नियमित आपूर्ति, स्थानीय उत्पादनको उपयोग र नागरिकको खाद्य पहुँचमा सुधार आउने विश्वास गरिएको छ ।



